फाइल तस्वीर


काठमाडौं – बलात्कारको आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व क्याप्टेन सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएका थिए । नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरी गौशालास्थित प्रहरी वृत्तमा राखेको थियो ।

एक १७ वर्षीया किशोरीले क्रिकेटरसन्दीप लामिछानेले आफुलाई बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उनको जाहेरी पछि सन्दीप लामिछानेलाई प्रहरीले गिरफ्तार गर्ने बताएको थियो । क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैका गएका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि उनलाई नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय टिमको क्याप्टेनबाट हटाएको थियो । बलात्कारको आरोप खेपिरहेका लामिछानेले आफु निर्दोश रहेको र आफुलाई फसाइएको भन्दै नेपाल फर्किएर आफु कानुन लडाईं लड्ने बताएका थिए ।

उनी नेपाल फर्किन आलटाल गरेपछि नेपाल प्रहरीले उनलाई गिरफ्तार गर्न इन्टरपोलसँग सहयोग मागेपछि सन्दीप जाहेरी दर्ता भएको एक महिना पछि नेपाल फर्केका थिए । उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीले तत्काल हतकडी लगाउँदै गिरफ्तार गरेको थियो ।