फाइल तस्वीर
भरतपुर– नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसका बागी उम्मेदवारलाई सघाउने भएको छ । एमालेका तर्फबाट उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेले पार्टीको लिखित निर्देशन बमोजिम उम्मेदवारी फिर्ता लिएका हुन् ।
एमाले उम्मेदवार न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ गठबन्धनविरुद्ध ’बागी’ उठेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गरेको छ । एमाले केन्द्रीय कार्यालयले न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाएको थियो । जिल्ला निर्वाचन कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले बताए अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र आएपछि एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता हुन् ।
सत्ता गठबन्धनविरुद्ध काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेको दिनेश कोइरालाले हिजो मङ्गलबार भक्तपुरस्थित ओली निवास बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग आफुलाई सहयोग गरिदिन अनुरोध गरेपछि अध्यक्ष ओलीले लिखित रुपमा चितवन क्षेत्र नं. ३ मा काङ्ग्रेसका बागी उम्मेदवार कोइरालाई सहगोग गर्न निर्देशन दिनुभएको थियो ।
एमाले चितवन अध्यक्ष समेत रहेका न्यौपानेले पनि उम्मेदवारीबाट पछि नहट्ने अडानसहित पार्टी अध्यक्ष ओलीलाई भेट्नु भएको थियो । तर ओलीले काङ्ग्रेस नेता कोइरालालाई सघाउने निर्णय भएको बताए पछि न्यौपानले उम्मेदवारी र्फिता लिनु भएको बताइएको छ । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको थियो । अध्यक्ष प्रचण्ड यस पटक गोरखा क्षेत्र नं. २ बाट उठ्नु भएको छ । तर उहाँले चितवन छाडेर गोरखा गएपछि यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीविरुद्ध काङ्ग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्दै नेकपा एमालेले आफ्नो पार्टीको उम्मेदवारी फिर्ता लिएको छ ।