फाइल तस्वीर

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भएता पनि ५७ वटा दलहरुले मात्रै प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । आयोगले जनाए अनुसार प्रतिनिधिसभातर्फ ५७ वटा राजनीतिक दलहरुले मात्र उम्मेदवारी दिएको जनाएको छ ।

प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको सङ्ख्या कम रहेको छ । जसमध्ये प्रदेश एकमा ३० वटा, मधेस प्रदेशमामा ३७ वटा, बागमती प्रदेशमा ३२ वटा, गण्डकी प्रदेशमा २३ वटा, लुम्बिनी प्रदेशमा २५ वटा, कर्णाली प्रदेशमा १६ वटा र सुदूरपश्चिम प्रदेशमा २० वटा राजनीतिक दलहरुले मात्रै प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका दलको सङ्ख्या भने एक सय १६ रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनु भएको छ । दर्ता भएका सबै राजनीतिक दलहरुले आगामी निर्वाचनमा भाग नलिने पनि पनि सहायक प्रवक्ता अर्यालले बताउनु भयो । यस अघि २०७४ सालमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ ५५ वटा राजनीतिक दलहरुले भाग लिएका थिए ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक दिन अघि अर्थात् मङ्सिर ३ गते १८ वर्ष पूरा हुनेहरुले मतदान गर्न पाउने भएको यस अघि नै निर्वाचन आयोगले बताइसकेको छ । १८ वर्ष उमेत पुगेका मतदाताहरुले मतदान गर्न १८ वर्ष पुगेको परिचय पत्र हुनुपर्ने आयोगले बताएको छ ।

आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुनेसमेत गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता रहेको आयोगले जनाएको छ । यो सङ्ख्यामध्ये ९१ लाख ४० हजार ८०६ जना पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र एक सय ८५ अन्य मतदाता रहेको आयोगले बताएको छ ।