काठमाडौं – निर्वाचना आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार खारेज गरेको ठाउँमा राजनीतिक दलले नयाँ सदस्य पठाउन नपाउने भएका छन् । आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले उम्मेदवारी खारेज गरिएको ठाउँमा दलले फेरि नयाँ उम्मेदवार पठाउन नपाउने निर्णय भएको जानकारी दिनुभएको हो ।

उहाँले उम्मेदवारी दिने समय सकिएकाले अब पुनः दलले नयाँ उम्मेवार पठाउन पाउने स्पष्ट पार्नुभयो । ‘अब समानुपातिक र प्रत्यक्षत दुवैतर्फ उम्मेदवार पठाउने समयसीमा सकिइसकेको छ,’ उहाँले भन्नुभयो, ‘आयोगले प्राप्त उजुरीका आधारमा अयोग्य ठहर गरेर उम्मेदवारी खारेज गरिदिएको हो । त्यहाँ अब नयाँ उम्मेदवार पठाउन पाइँदैन ।’ आइतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा मनोनयन दर्ताका लागि समय दिएको थियो ।

आयोगले हिजो रूपेन्देहीको प्रतिनिधिसभा क्षेत्र नं २ का सत्तागठबन्धनका उम्मेदवारसहित तीनजनाको उम्मेदवारी खारेज गरेको छ । जसमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल परेका छन् ।र गुरुङविरूद्ध बैंकिङ कसुरमा दोषी ठहर भएकाले निर्वाचन लड्न अयोग्य भएको उजुरी परेको थियो । अर्का उम्मेदवार भुसालविरूद्ध उम्मेदवारहरू विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १५ को खण्ड(ङ) बमोजिम उम्मेदवार हुन नपाउने भन्दैै उजुरी दिएका थिए । उनीहरू सबैलाई चुनाव लड्न अयोग्य ठहर गर्दै उम्मेदवारी खारेज गरिएको हो ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका दुर्य प्रतिनिधिसभा सदस्य उम्मेदवारको पनि उम्मेदवारी खारेज भएको छ । बर्दिया २ बाट उम्मेदवारी दिएका रेशम चौधरी र कैलाली ५ बाट उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको छ । चौधरी टीकापुर घटनामा दोषी ठहर भइ कैद सजाय काटिरहेका छन् भने थारु यतिबेला प्रहरीको फरार सूचीमा छन् । उनलाई पनि टीकापुर घटनामा ती वर्षको कैद सजाय सुनाइएको छ । फौजदारी मुद्दामा दोषी ठहर भएका कारण उनीहरूको उम्मेदवारीमाथि उजुरी परेको थियो । सोही उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले उनीहरू दुवैको उम्मेदवारी खारेज गरेको हो ।

रुकुम पश्चिम प्रदेश(२)क का काङ्ग्रेस उम्मेदवार प्रेमप्रकाश वलीको पनि उम्मेदवारी खारेज भएको छ । रुकुममा पश्चिममा काङ्ग्रेस सभापतिसमेत रहेका वली बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भइ सजाए पाएका थिए । उनीविरूद्ध सोमबार रुकुम पश्चिम प्रदेश(२) माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए ।