फाइल तस्वीर

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली आज प्रकाशित गर्ने भएको छ । आयोगका अनुसार आज मङ्गलबार साँझ ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जनामात्रै छन् । प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार पुरूष तीन हजार एक सय ७८ र महिला दुई सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिने भएको छ । नाम फिर्ता लिन बुधबार समय दिइने आयोगको कार्यतालिका छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने भोलि हुनेछ ।