काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित युवती नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालत बाहिर लामिछानेकी वकिल सुधा रिजालले पत्रकारसँग कुराकानी गर्दै पीडित युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

पत्रकारसँग वकिल सुधाले भनिन्, ‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। शिलशिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ, उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण पेश गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’

लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए । तर पीडितका कागजातबारे आफूलाई थाहा नभएको उनले बताए। उनले भने, ‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन, सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ ।’

लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौँ प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आवद्ध थिए । लामिछाने अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका गएका थिए ।

अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्यो भने नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो। अमेरिकाबाट कतारको दोहामा ट्रान्जिट हुँदै बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।