काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ । आज सोमवार काठमाडौंमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण विभिन्न असरहरू पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको भन्दै देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताउनुभयो ।
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यसमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उल्लेख गर्नुभयो ।