फाइल तस्वीर

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्दमेवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा काङ्ग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं नेपाली काङ्ग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न मनोनयन दर्ता गराउने नेपाली काङ््ग्रेस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा पुग्नुभएको हो ।
प्रधानमन्त्रीमा देउवा डडेल्धुराबाट वि.सं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ त्यस यताका सबै आमनिर्वाचमा निर्वाचित हुँदै आउनुभएका छ ।

उहाँ प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालकोे निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित हुनुभएको थियो । वि.सं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले बताउनुभयो ।

प्रधानमन्त्री पत्नी आरजुले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली काङ्ग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पु¥याएको उल्लेखनीय योगदानको स्मरण गरी उहाँलाई आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिले जस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राख्नुभयो ।

यसअघि वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा वि.सं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी हुनुभएको थियो । उहाँ वि.सं २०४८ मा सांसद बनेपछि गृहमन्त्री हुनुभएको थियोे । विं सं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।

त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन् ।

डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्दनका नेताले जित हासिल गर्ने काङ्ग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताउनुभयो ।

जिल्ला सभापति साउँदले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिङ्गो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिएकाले देउवाले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्काे कुनै विकल्प नहुने धारणा राख्नुभयो । नेपाली काङ्ग्रेसलगायत सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ताको आज अपराह्नका लागि तय गरिएको जनाएका छन् । रासस