काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न अस्वीकार गरेपछि काठमाडौं ८ मा एमालेलाई उम्मेदवार खोज्न सकस परेको छ । उक्त क्षेत्रका स्थापित नेताहरू पार्टी विभाजनका बेला एकीकृत समाजवादीतर्फ लागेपछि एमालेले शाक्यलाई नै अगाडि बढाउन चाहेता पनि शाक्यले संसदीय राजनीतिबाट नै विदा लिने भन्दै उम्मेदवार बन्न अस्वीकार गर्दै आएपछि एमालेलाई उम्मेदवार खोज्न सकस परेको हो ।

अहिले एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने चासोको विषय बनेको छ । उम्मेदवारी दर्ता गर्नुभन्दा अघिल्लो दिन अर्थात हिजो २२ असोजमै शाक्यले आफ्नो विकल्प खोज्न अध्यक्ष ओलीलाई आग्रह गरिसकेको बताइएको छ । शाक्य पछि सरेपछि काठमाडौं ८ मा एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । एमालेका एक नेताले बताए अनुसार काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाउन सकिने विकल्पमा छलफल भएको छ ।

त्यसैगरी, काठमाडौं जिल्लाका पूर्वसंयोजक सुरज वैद्य अर्को विकल्पको रूपमा रहेका छन् । तर,अध्यक्ष ओलीले अहिलेसम्म कसलाई उम्मेदवार चयन गर्ने भनी प्रष्ट पारिसकेका छैनन । एमाले उपाध्यक्ष शाक्यले आफू चुनावी प्रतिस्पर्धामा नआउने बताउने क्रममा पनि यिनै दुईजनाको नाम विकल्पमा प्रस्तुत गरेकी थिइन् । संसदीय राजनीतिबाट विदा लिने तयारीमा रहेकी शाक्यलाई ओलीले भने उम्मेदवारी दिन दबाब दिइरहेका छन् ।