फाइल तस्वीर ।


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी सिट बाँडफाँडको टुङ्गोमा पुग्न छलफल अघि बढाएको छ ।

पाँच दलीय गठबन्धनमा रहेको जसपाले आफुले दावी गरेअनुसारको सिट नपाएपछि आगामी चुनावको लागि एमालेतिर लहसिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच यस बारेमा भित्रिरुपमा केही दिनदेखि छलफल भएको थियो । उपेन्द्र यावद सत्ता गठबन्धनको बैठकमा सहभागी हुन छोडेर एमालेसँग चुनावी तालमेलमा लागेका हुन् । जसपाले एमालेसँग प्रतिनिधिसभा सदस्यका लागि आफुलाई २५ सिट दिनुपर्ने प्रस्ताव एमाले अध्यक्ष ओलीसँग गरिसकेको छ । जसपा नेपालका नेतासँगहरु एमालेले एक चरण छलफल गरिसकेको छ ।

यसैगरी एमालेले राप्रपासँग पनि सिट बाँडफाँटबारे छलफल गरिरहेको छ । कुनैपनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगरेपछि निर्वाचन क्षेत्रका आधारमा कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल गर्न सक्ने एमालेको पार्टी बैठकले निर्णय गरिसकेको छ । सोही अनुसार एमालेले आज शुक्रबार जसपा र राप्रपासँग चुनावी तालमेल गर्न छलफल गर्न लागेको बताइएको छ ।

एमालेले झापामा चुनावी तालमेलका लागि राप्रपालाई प्राथमिकता दिएको छ । झापाका अतिरिक्त अन्य जिल्लाका केही सिटमा राप्रपासँग तालमेल हुन सक्ने छ । यसबारे एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा शुक्रबार दिउँसो करिब ३ बजेदेखि छलफल भइरहेको जनाइएको छ ।

राप्रपासँग एमालेले केही सिमित सिटमा मात्रै चुनावी तालमेल हुन सक्ने यस अघिनै बाहिर आएको थियो । जसपाले सत्ता गठबन्धनसँग सिट सङ्ख्यामा कुरा नमिलेपछि २५ सिट माग गर्दै एमालेसँग चुनावी तालमेल गर्न छलफल भैरहेको छ । एमालेले आगामी निर्वाचनमा आफुले बहुमत ल्याउन सक्ने आधारमा मात्रै राप्रपा र जसपा नेपालसँग चुनावी तालमेल गर्ने रणनीतिमा रहेको छ ।