फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावललाई आगामी निर्वाचनको लागि उम्मेदवारको टिकट नदिने भएको छ । नेता रावलको ठाउँमा एमाले अछाम–१ बाट झपट बोहोरालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउने भएको स्रोतको भनाइ छ ।

’एमालेका एक प्रभावशाली नेताका अनुसार ‘अछाम–१ मा झपट बोहोराको नाम टुङगो लागेको छ, सम्भवन अब यही नाम अन्तिम होला । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इञ्चार्ज हु्न् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय गर्नुभएको स्रोतको भनाइ छ ।

एमालेले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको लागि टिकट वितरणको अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । अध्यक्ष ओलीले सोही अनुसार आफ्नो विवेध र अधिकार प्रयोग गर्दै अछाम–१ मा झपट बोहोराको नाम टुङ्गो लागेको बताइएको छ ।

यद्यपि, एमालेको अछाम जिल्ला कमिटीले भने डा.भीमबहादुर रावललाई नै सर्वसहमत एकल उम्मेदवारको रुपमा नाम सिफारिस गरेको थियो । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो । अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।

एमालेमा भीम रावललगायत अन्य नेताहरु घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, रधुजी पन्तलगायतका नेताहरुको राजनीतिक भविस्यमाथि यतिखेर कालो बादल मडारिएको छ । भीम रावल गत मङ्सिरमा चितवनमा भएको एमालेको महाधिवेशनमा केपी शर्मा विरुद्ध अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । रावल अध्यक्षमा ओलीसँग भारी मतान्तरले पराजित हुनुभएको थियो ।

एमाले अध्यक्ष ओली पार्टीमा आफ्नो विरुद्ध उत्रिएका र अन्तिममा एमालेमै बसेका ‘दश भाइ’ र माओवादी केन्द्रबाट आएका नेताहरुलाई विस्तारै पेण्डुलम बनाइ पार्टीमा स्पेश नदिने रणनीतिमा लाग्नुभएको एकथरिको भनाइ छ ।