काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको बताउनुभएको छ । बडादशैँको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दे पूर्वराजा शाहले सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ ।’

सन्देशमा भनिएको छ ‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनः निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेको छ ।’ सन्देशमा पूर्वराजा साहले रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशिरहेकोमा उनले चिन्तासमेत व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ ।

हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्रिय प्रजातन्त्र, मौृलिक मान्यताह र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’