काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको पुनर्स्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाउनुभएको छ । आज बुधबार एकता घोषणा कार्यक्रममा एक सम्झौतामा हस्ताक्षर गर्दै उहाँहरुले यी दुई मुद्दामा सहमत रहेको बताउनुभएको हो ।

विश्वासिलो र बलियो ‘सम्बर्द्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यक रहेकाले आफूहरु एक ठाउँ आइपुगेको उहाँहरुले बताउनुभएको छ । पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुनुभएको हो ।

मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष रहने पनि सोही सम्झौतामा उल्लेख छ । शङ्खघण्टको ध्वनीसहित एकता पत्रमा हस्ताक्षर गर्नुभएका लिङ्देन र मिश्रले एकअर्कालाई माला लगाइदिएर सँगै एकसाथ अघि बढ्ने पक्का गर्नुभएको हो ।