काठमाडौं – गृहसचिव विनोदप्रकाश सिंहले आसन्न निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । आज बुधबार हल्चोकस्थित सशस्त्र मुख्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सीमित स्रोत–साधनको बाबजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकूल अवस्थामा रहेका बीओपीहरूको सुधारका लागि समयानुकूल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको उहाँले बताउनुभयो । सचिव सिंहले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरीका बाहिनीपति तथा युनिटपतिहरूले आफू मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राज्यप्रदत्त जिम्मेवारीहरूलाई सदैव शिरमा राखेर उच्च नैतिकता, इमानदारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धारलगायत जिम्मेवारीहरूमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनुपर्ने बताउनुभयो । उहाँले मानवअधिकारको रक्षा, लैंगिक हिंसा र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न÷गराउन निर्देशन समेत दिनुभयो ।