काठमाडौं – लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

प्रदेशानुसार डेंगु रोगका सङ्क्रमितहरु बागमतीमा सबैभन्दा धेरै छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको सङ्क्रमण देखिएको महाशाखाले जानकारी दिएको हो ।

यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१, प्रदेश १ मा ८१५, गण्डकी प्रदेशमा ६५३, मधेस प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।

डेंगु सङ्क्रमण दरका हिसाबले १० वटा जिल्ला सबैभन्दा उच्च जोखिममा रहेका महाशाखाले जानकारी दिएको छ । डेंगु सङ्क्रमणका हिसाबले काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली क्रमशः उच्च जोखिममा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ । यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१, दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगुका सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।