काठमाडौं – अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेकी हुन् ।

नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप बुझ छलफलहरूमा पनि सहभागी हुनेछिन् ।

ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नेछिन् । नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ । बुधवारदेखि सुरु हुने उनको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र ‘रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद’ गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।