फाइल तस्वीर

काठमाडौं– सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो परेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो ।

बैठकले सिट बाँडफाँड टुङ्गो लगाउने कार्यदलले दाबी गरेको छ । मङ्गलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँडको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँडको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिनुभयो ।

उहाँका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । आजको बैठकले प्रतिनिधिसभातर्फको सिट बाँडफाँडमा पनि सहमति गर्ने ठानिएको छ ।