काठमाडौं – नेपालमा डेंगीले महामारीको रुप लिएसँगै डेंगीका बिरामीको संख्या साढे २५ हजार नाघेको छ । वि.सं २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगीका बिरामी नेपालमा भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म २५ हजार ५ सय ४३ जना डेंगीका बिरामी भेटिएका छन् । हालसम्म डेंगीका कारण ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा २०६१ सालमा पहिलो पटक डेंगीका बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगीका बिरामी नेपालमा देखिएका छन् । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७ सय ७५ जना, मधेश प्रदेशमा ३ सय ८० जना, बागमती प्रदेशमा १९ हजार ९ सय १०, गण्डकीमा ५ सय ५६, लुम्बिनीमा २ हजार ८ सय ८७, कर्णालीमा २ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।