भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताउनुभएको छ । रूपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ ।’

गठबन्धनलाई नेपाली काङ्ग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उहाँले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले काङ्ग्रेस सङ्कटमा छैन भन्ने सन्देश रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो –‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि गर्नुपर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौ । देशका अन्य राजनीतिक शक्तिहरू पनि प्रतिबद्ध हुनु पर्छ यो लोकतान्त्रिक मूल्यपद्धतिको मूल आधारशीला नै हो । आधारशीलालाई भत्काउने कोशिश भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र संविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ ।’