काठमाडौं – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । ब्युरोले आज आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

ब्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो । त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोइनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको ब्युरोले जनाएको छ ।

त्यस्तै १२ हजार भन्दा बढी एम्पुलका साथ बा ५ च ७१३८ नम्बरको बोलेरो र भाडाको बस सहित तीन जनालाई पक्राउ गरिएको र ब्युरोले बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी रु ३१ लाख ५ हजार रहेको जनाएको छ ।