काठमाडौं – सर्वोच्च अदालतले कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार बिदाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश कार्कीले असोज १६ गते ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सोमबार घटस्थापना भएको र त्यही दिनदेखि अदालत कोजाग्रत पूर्णिमासम्म बन्द रहने हुन्दा उहाँलाई आइतबार औपचारिक कार्यक्रम गरेर बिदाइ गर्न लागिएको हो ।

उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लाग्नुभएका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिदैंछ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले आज तीन बजे विदाइ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । भोलि सोमबार घटस्थापना र अदालत कोजाग्रत पूर्णिमासम्म बिदा हुने भएकाले आज विदाइ कार्यक्रमको आयोजना गरिएको सर्वोच्चले जनाएको छ । गत फागुन १ देखि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते महाअभियोग लागेपछि वरिष्ठ न्यायाधीशका हैसियतले कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम गर्दै आउनुभएको छ । महाअभियोग लागेपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । वरिष्ठ न्यायाधीशको हैसियतमा अब हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आगामी मंसिर २७ गते उमेर हदका कारण अवकास पाएपछि हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्नुहुनेछ ।