काठमाडौं – राष्ट्रिय चिकित्सा आयोगको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १ सय ७६ जना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

बिहीबार, शुक्रबार र शनिबार लाइसेन्सको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए । जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना अनुपस्थित रहेका थिए । उहाँका अनुसार डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३ सय ५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २ सय ३० जना अनुत्तीर्ण भएका हुन् ।

यस्तै, एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७ सय ५ जनाले आवेदन दिएका थिए । १ हजार ६ सय ८६ जनाले परीक्षा दिएकोमा ७ सय ४० जना उत्तीर्ण र ९ सय ४६ जना अनुत्तीर्ण भएका छन् ।