काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोे छ ।

भोलि सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । असोज ११ गते मंगलबार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।