भैरहवा – गृहमन्त्री बालकृष्ण खाँणले टिकटका लागि प्रतिस्पर्धा भइरहेका बेला सबैले बुद्धको शिक्षा आत्मसात् गरेर त्याग गर्नुपर्ने बताउनुभएको छ । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाँणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैँ त्याग गर्न पनि आवश्यक रहेको बताउनुभएको हो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो, तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।’ मन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गर्नुभयो ।

मानव जीवनको सुरुवातमा खराब भए पनि अन्तिममा शान्तिमार्गमा लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको चर्चा गर्दै गृहमन्त्री खाँणले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धनमा सरकार लागेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटन मन्त्रालयको १५ लाख, सिद्धार्थनगर नगरपालिकाको पाँच लाख र अन्य दाताबाट गरी ३० लाखभन्दा बढीको लागतमा भैरहवामा रहेको शान्ति बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो । गुम्बामा अहिले ३५ विद्यार्थी, आनी एवम् लामा गुरु आठजना रहेको गुम्बाका अध्यक्ष आसबहादुर गुरुङले जानकारी दिनुभयो । रासस