फाइल तस्वीर

काठमाडौं – २०औँ पटकको आमरण अनशनरत डा.गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ । सरकारसँग अब गरिने सहमति विगतको जस्तो (प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने) सम्झौतामा नटुङ्गियोस् भन्दै नागरिक आन्दोलनले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो ।

बृहत् नागरिक आन्दोलनले शुक्रबार एक वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न सरकारलाई आग्रह समेत गरेको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेसहित थप सात बुँदे माग गर्दै अनसन बसेका डा.केसीको आज १३औँ दिन हो ।

कैलालीको धनगढीबाट अनशन सुरु गरेका केसी स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार काठमाडौँ आएका थिए । हाल उनी टिचिङ अस्पतालमै अनसनरत छन् । डाक्टरहरूको प्रत्यक्ष निगरानी रहे पनि अनशनमै रहेका डा.केसीले उपचार सेवा लिन मानेका छैनन् । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउनुभएको छ ।

डा.केसीसँग १९औँ अनसनसम्म पटक–पटक सम्झौता गरेर कार्यान्वयन नगरेको सरकारले यस पटक पनि दिनहुँ जसो वार्ता गरिरहेको छ । वार्ता टोली गठन भएको एक साता बितिसक्दासमेत कुनै निचोड निस्कन सकेको छैन । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको राजीनामाको विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने भएकाले निष्कर्षमा पुग्न नसकिएको सरकारी वार्ता टोलीका सदस्य रोशन पोखरेलले जानकारी दिनुभयो ।

तर सरकार स्वास्थ्य क्षेत्र सुधारका लागि तयार नभएकाले विभिन्न बहानामा वार्तालाई सार्थक बनाउन नचाहेको अनसनरत डा केसीका सहयोगी प्रितम केसीको बुझाई छ ।