काठमाडौं – सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।
शुक्रबार दिनभरजसो छलफल भए पनि सहमति जुट्न सकेको थिएन । सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर बैठक टुङ्ग्याइएको थियो । आसन्न निर्वाचनका लागि सत्तारूढ गठबन्धनले समानुपातिकको बन्दसूची बुझाइसकेको छ । समानुपातिकमा सहमति भए पनि प्रत्यक्षतर्फको सिट बाँडफाँडमा भने अझै सहमति जुट्न नसक्दा किचलो बढ्दै गएको छ ।
गठबन्धनका नेताहरूको प्रतिनिधिसभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिट र प्रदेशसभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दावी छ ।