काठमाडौं – समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसमा असन्तुष्टिले उग्र रूप लिएको छ । संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढङ्गबाट समानुपातिक सूची बुझाएको भन्दै इतर समूह प्रतिकारमा उत्रिएको हो ।

पार्टीमा संस्थापन पक्षले इतर समूहलाई उपेक्षा गरेको भन्दै खबरदारी सभाको आयोजना गरेको छ । शेखर समूहले शनिबार बानेश्वर ब्याक्वेटमा दिउँसो १ बजेलाई खबरदारी भेला आयोजना गरेको समूहका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार, “समानुपातिक सूचीमा सभापतिज्यूले एकलौटी गर्नुभयो । हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भयो । पार्टीभित्र मनपरित्रतन्त्र हावी भयो । सभापतिले एकलौटी गरेपछि हामीले खबरदारी सभाको आयोजना गरेका हौँ ।”

संस्थापन इतर समूहका नेता जगदिश्वर नरसिंह केसीका अनुसार समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेजस्तै प्रत्यक्ष तर्फको टिकटमा पनि एकपक्षीय गतिविधि हुने भय समूहमा छ । सोहीकारण सभापति देउवालाई दबाव दिने र सम्माजनक भागबण्डा लिने तयारी शेखर समूहको छ । “अरू दललाई ८०–८५ सिट दिने अनि पार्टीभित्रै अर्को समूहलाई चाहिँ समान हैसियत दिनु पर्दैन ? जिम्मेवार नेताहरूलाई पाखा लगाउन मिल्छ ?” नेता केसीले भन्नुभयो, “अरु दलसँग १८ घण्टा मिटिङ गर्ने । एकै दलमा रहेर फरक समूहको नेतृत्व गर्ने समूहका नेतालाई १८ मिनेट पनि नभेट्ने ? त्यसकारण हामीले खबरदारी सभा गर्न बाध्य भएका हौँ ।”

केसीका अनुसार सभामा इतर समूहबाट प्रतिनिधित्व गर्ने भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु सभामा उपस्थित हुनेछन् । उहाँले खबरदारीपश्चात् पनि निरन्तर आफूहरूलाई पाखा लगाएर सभालाई सशक्त बनाउँदै लगिने बताउनुभयो ।