फाइल तस्वीर
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भएको बताउनुभएको हो ।
उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने काम संविधानमाथिको प्रहार भएको बताउनुभयो । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उहाँको भनाइ छ । उहाँले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राख्नुभयो । देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरू प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप बालेर बसेको उल्लेख गर्नुभयो । ‘मैले मूर्तरूपमा भन्दै छु । अहिले संविधान खुलेयाम मिच्ने काम भयो । संविधानको पालक र रक्षकबाट नै जानी बुझी मिचियो । नजानेर वा झुक्किएर होइन । जानी बुझी संविधान मिच्ने काम भएको छ ’ प्रचण्डले भन्न्ुभयो, ‘यो सामान्य होइन । यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धि, लाखौँ लाख किसानहरू उत्पीडित समुदायको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने, अपहरण गर्ने षडयन्त्रकै एउटै कडी हो ।’ प्रचण्डले संविधान मिच्ने प्रवृत्तिलाई जनता र परिवर्तनकारी शक्तिको एकताले मात्रै परास्त गर्न सकिने जिकिर गर्नुभयो ।
संविधान र व्यवस्थामाथि गत सालदेखि नै सुरु भएको प्रतिगमन अझै नरोकिएको प्रचण्डले दाबी गर्नुभयो । ‘जुन प्रतिगमन गत सालदेखि सुरु भएको थियो । त्यो रोकिएको छैन । त्यसलाई नयाँ नयाँ स्वरूपमा ल्याउने जमर्को भई राखेको छ’, प्रचण्डले भन्नुभयो, ‘हामीले आफ्नो सतर्कता गुमायौं भने हामीले आफूभित्रको एकतालाई कमजोर हुन दियौं । हामीले आम किसान मजदुर, सम्पूर्ण उत्पीडित वर्ग समुदायलाई आन्दोलित गरी राख्ने जागरुक गरी राख्ने संगठित गरी राख्ने अभियान राक्यौं भने जुनसुकै बेला प्रतिगमन हुने खतरा छ ।’
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले गत सालको प्रतिगमन सडकबाट लाखौं जनता उतारेर परास्त गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो –‘अहिले खुलेयाम संविधान मिच्ने काम भएको छ । त्यसलाई आमजनताको बीचमा गएर कसरी प्रतिगमन फेरी आउँदै छ ? कसरी प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र भएको छ ? हामीले आमजनतालाई प्रशिक्षित गराउने, जागरूक तुल्याउने र आन्दोलित गरेर मात्रै यी प्रतिक्रान्तिकारी षडयन्त्रहरूलाई परास्त गर्न सकिन्छ ।’