फाइल तस्वीर
धनुषा -जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको थियो । राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा अस्वीकार गरेको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसपाले मधेशमा शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गरिने बताएको छ। जसपाले बुधबार र बिहीबार पनि मधेशका ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको थियो । असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाज लगायतसँग अन्तर्क्रिरया गरिने जसपाले जनाएको छ ।

जसपा मधेश समितिका सचिव दिनेश यादवका अनुसार असोज ११ मा भ्रातृ संगठनले राष्ट्रपतिविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम छ । राष्ट्रपतिको पुत्ला दहन गर्ने पनि उहाँले बताउनुभयो । उहाँले असोज १३ गते पालिका तहमा अन्तर्क्रिरया गरिने बताउनुभएको छ । यस्तै असोज १५, १६ र १७ मा पालिका र वडा तहमा राष्ट्रपतिको कदमविरूद्ध अन्तर्क्रिरया गरिने बताइएको छ ।

उहाँले भन्नुभयो, ‘संविधानतः नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्थ्यो तर उहाँले संविधानलाई नै च्यातचुत पार्न खोज्नुभयो । राष्ट्रपतिको यो कदमले यो व्यवस्थामाथि खतरा रहेको हाम्रो निष्कर्ष छ । उहाँले तुरून्त राजीनामा दिनुपर्छ ।’