साङ्केतिक तस्वीर

कञ्चनपुर – जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटेल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटेलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो ।

होटेलमा जङ्गली बँदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । ‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ’, उहाँले भन्नुभयो, ‘मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदै छौँ ।’ परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो ।