फाइल तस्वीर
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो ।
संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अदालतमा छुट्टाछुट्टै रिट परेको थियो । सो रिटको पेसी आजलाई तोकिएको हो ।
राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।
अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता दायर गरेका हुन् । उक्त रिटसँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चारवटा रिट दर्ता गराएका छन् । पाँचवटै रिट सर्वोच्च प्रशासनले बिहीबार नै दर्ता गरिसकेको छ । सबै रिट एकै प्रकृतिका हुनाले आज एकै इजलासमा हेरिने भएको छ ।