काठमाडौं– सत्तागठबन्धनसँग आवद्ध पाँच विद्यार्थी सङ्गठनले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी निस्कृय पारेको भन्दै विरोध जनाएका छन् ।

राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोध गर्दै काठमाडौंमा आज बिहीबार प्रदर्शन गर्दै विद्यार्थी सङ्गठनहरुले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेकोमा आपत्ति जनाएका छन् । पाँच विद्यार्थी सङ्गठनले आयोजना गरेको उक्त विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पुगेको राष्ट्रपतिको विरुद्ध नाराबाजी समेत गरेका थिए ।

विरोध कार्यक्रममा नेविसङ्घका सभापति दुजाङ शेर्पा, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायतका विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।