फाइल तस्वीर ।

काठमाडौं – सत्ता गठबन्धन दलको बैठक आज बिहीबार पनि बस्दैछ । सिट बाँडफाँडबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले दिउँसो दुई बजे बैठक बस्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण नगरी निस्कृय बनाइएको कारण हिजो बुधबारका लागि सिट बाँडफाँडको बैठक हुन सकेन । हिजोको बैठक राष्ट्रपति भण्डारीको असंवैधानिक कदमका बारेमा सरकारले के कस्तो धारणा बनाउने भन्नेमै दिनभर केन्द्रीत भएको थियो । सोही कारण गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन ।

आजको बैठकमा कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने र सिट बाँडफाँडको विषय टुङ्ग्याउने नेताहरुले बताएका छन् । गठबन्धनका दलहरुबीच प्रतिनिधिसभाको कुल १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधिसभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको कार्यदलका सदस्य समेत रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । शनिबारसम्ममा सिट बाँडफाँडको कुरा टुङ्ग्याएर आ–आफ्नो पार्टीमा उम्मेदवार छनोट गर्न लाग्ने बताइएको छ ।

सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट सङ्ख्यामा चाँडो सहमति जुटाउनुपर्ने भन्दै काङ्ग्रेसलाई दवाव दिँदै आएका छन् । सिट बाँडफाँडमा माओवादी केन्द्रले ६० सिट दावी गर्दै आएको बताइएको छ । त्यसो त नेपाली काङ्ग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि आ–आफ्नो दावी भने छाडेका छैनन् ।

कार्यदलको बैठकमा निर्वाचन पछि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख कुन कुन पार्टीले लिने भन्ने विषयमा पनि अनौपचारिक छलफल भएको कार्यदलका एक सदस्यले बताएका छन् ।