फाइल तस्वीर


काठमाडौं – नागरिकता विधेयकले मुलुकको हित नगर्ने भन्दै उक्त विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी गत बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको निवेदन आज मङ्गलबार पेशी चढेर पनि स्थगित भएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार सर्वोच्चमा दर्ता गराउनु भएको उक्त निवेदन मङ्गलबार एकल इजलासमा पेशीमा चढेर स्थगित हुनु पुगेको हो ।

रिट निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो ।

निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ । वरिष्ठ अधिवक्ता भण्डारीले रिट निवेदनमा नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले त्यो विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी निवेदनमा उल्लेख गर्नुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेको सो निवेदन ‘हेर्न नमिल्ने’ भन्दै आज सुनुवाई हुन सकेन । निवेदनमा वरिष्ठ अधिवक्ता रमेश बडालको समेत वकालतनामा छ । बडाल र डा. शर्मा पहिले एउटै ल फर्ममा काम गरेका कारण मुद्दा हेर्न नमिल्ने भएपछि आजको सुनुवाई अवस्थामा पुगेको हो ।

निवेदनमा राष्ट्रपति कार्यालय सहित प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाइएको उक्त रिट निवेदन भोलि बुधबारका लागि पेशी तोकिएको छ ।