फाइल तस्वीर
काठमाडौं – आगामी ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ । प्रमुख राजनीतिक दलले आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउँदैछन् ।
पहिलो दिन हिजो आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीसहितका दलहरुले भने आज बन्दसूची बुझाउने भएका हुन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (२ र ३ असोज) लाई बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ ।
आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ । आकाङ्क्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न दलहरुलाई सकस भएको छ ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रमअन्तर्गत पहिलो दिन प्रतिनिधि सभा तर्फ २ दल र प्रदेशसभातर्फ ३ दलले बन्दसूची बुझाएका छन् । समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ। प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ ।