काठमाडौं – उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । महानगरले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालिसकेको छ । जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सले आफू बसेको घर महानगरपालिकाले अन्धाधुन्ध भत्काउन लागेको भन्दै उक्त काम रोक्न माग गर्दै भदौ ३१ गते निवेदन दिएका थिए । निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश बमको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
उच्च अदालतले टुकुचा खोल्नुको कारण समेत पेश गर्न महानगरपालिकको नाउमा आदेश दिएको छ । अल्पकालीन आदेशलाई के गर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई असोज ५ गते बोलाइएको छ । १३० वर्ष अघि नै टुकुचालाई भूमिगत बनाइएको तथ्य सार्वजनिक भएको छ । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनले जनाएको छ ।