काठमाडौं – आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो ।

आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट सुरु भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले भन्न्ुभयो, ‘आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्त्वपूर्ण छ । जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ । आफ्नो जीवनलाई अझै महत्त्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिवृद्धि गराऊँ, अरूलाई सहयोग गर्ने काम गरौँ ।’ उहाँले नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनिकीकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिबद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्वास व्यक्त गर्नुभयो ।