फाइल तस्वीर

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाटै निस्किन रोक लगाइएको छ । आज आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर सरकारले जबरालाई निवासबाट निस्कन रोक लगाएको हो ।

सरकारले जबरालाई सर्वोच्च जान नदिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामा खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले महाअभियोग शनिबार रातिबाटै निष्क्रिय भइसकेकाले आफू नियमित काममा हाजिर हुन पाउनुपर्ने बताउनुभएको छ । ‘मलाई अदालत जान नदिनु भनेको नजरबन्द नै हो ।’ उहाँले भन्नुभयो, जबराले आफ्नो कार्यकाल मंसिर २७ गतेसम्म रहने जिकिर समेत गर्नुभएको छ ।
बिहानैदेखि प्रधानन्यायाधीश निवासको गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भित्रिने र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच भइरहेको छ । त्यसै गरी नाम लेखाएर मात्र प्रवेश दिने गरिएको छ । जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन बार एसोसिएसनलगायतका वकिलहरू अदालत परिसरमा धर्ना दिइरहेका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएको भन्दै जबरा आइतबार सर्वोच्च पुग्ने बताउनुभएको थियो । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो ।