काठमाडौं – वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज आइतबार बिहान निधन भएको छ । पोष्ट कोभिडले निमोनिया बल्झिएपछि उहाँको काठमाडौंस्थित बीएण्डबी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक ७७ वर्षीय गौतम सम्पादक समाज नेपालका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक पूर्वसभापति हुनुहुन्थ्यो । पञ्चायतकालमा प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदा उहाँका पत्रिकामा प्रशासनले रोक समेत लगाएको थियो ।

२०४२ सालमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको भाषण प्रकाशन गरेको भन्दै उहाँ ६ महिना जेल पर्नुभएको थियो । सो घटनाको सेरोफेरोमा आधारित रहेर लेखिएको उहाँको संस्मरण पुस्तक अनुसन्धानदेखि अनुसन्धान प्रकाशित छ । पाँच दशक लामो सक्रिय पत्रकारितामा उहाँले प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा कलम चलाउनुभएको थियो । गौतमको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।