काठमाडौं – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरेको हो ।

आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ । आज ठूला दलहरुले सूचीलाई अन्तिम रुप दिनेगरी बैठक तथा छलफलहरु गरिरहेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २०सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन् ।

समानुपातिक सूचीलाई अन्तिम रुप दिन नेपाली काङ्ग्रेसले आठजना सहमहामन्त्रीहरुको कार्यदल नै बनाएर काम गरिरहेको छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सूची तयार गर्नका लागि आज सचिवालय बैठक बोलाएको छ । आयोगमा दलहरुले आज र भोलि प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना सदस्यको लागि बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूचीमा दलहरुले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ । समानुपातिक बन्दसूचीमा ५० प्रतिशत महिलाहरुलाई सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ । प्रत्यक्ष निर्वाचनका लागि भने असोज २३ गतेदेखि प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

मिश्रित निर्वाचन प्रणालीअनुसार सङ्घ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० समानुपातिक कोटाबाट आउँछन् । बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ ।