काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सर्वोच्च अदालतले दुई/दुई पटक संसद विघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा खनालले अदालतले दुई/दुई पटक संसद् विघटन असंवैधानिक हो भनेर भन्दा पनि एमालेको चेत नखुलेको भन्दै आगामी निर्वाचनको परिणामले एमालेको चेत खुल्ने बताउनुभयो ।

नेता खनालले यसअघिको पाँच वर्षे ४१ महिना पुग्दा नपुग्दै सरकार ढल्नुको कारण प्रतिपक्षी दल नभई एमाले नभई आफैँले ढालेको बताउनुभयो । उहाँले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्ने धारणा राख्नुभयो ।

वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उहाँले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने बताउनुभयो । नेता खनालले नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको बताउनुभयो ।