काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १०औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकमा आधुनिक विज्ञान शिक्षाको सुरुआत भएको धेरै लामो समय नभए पनि यस क्षेत्रको केही विकास भइरहेको बताउनुभयो ।

उहाँले विज्ञान, प्रविधिको विकास, वैज्ञानिक जनशक्ति उत्पादन, नवीनतम आविष्कार र उनीहरूको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्न्ुभयो ‘देशको विकास र समृद्धिका लागि महत्त्वपूर्ण रहेको विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गर्दछ ।’ प्रधानमन्त्री देउवाले डिजिटल अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिँदै वैज्ञानिक जनशक्तिलाई अनुसन्धानको व्यवस्थापन तथा प्रतिभाको संरक्षण गर्ने नीति सरकारको रहेको त्यसका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो ।

यस क्षेत्रलाई फराकिलो बनाउन स्वदेशी तथा विदेशी लगानीको खाँचो औँल्याउँदै उहाँले विज्ञान शिक्षाको विकास गर्न गाउँदेखि नै उचित वातावरण तयार पार्नुपर्ने विचार व्यक्त गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको समय सूचना र प्रविधिको भएकाले त्यस क्षेत्रमा कार्य गर्नुपर्ने बताउँदै विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा क्रियाशील गराइने विश्वास व्यक्त गर्नुभयो । –रासस