काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र सम्मृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु परेको बताउनुभयो ।

उहाँले संविधानले निर्देशित गरेअनुसार पाँच वर्ष सदन चल्ने अनुमान गरे पनि यसले विभिन्न अवरोध ब्यहोर्नु परेको बताउनुभयो । सरकार गठनको तीन वर्षमै संविधानअुनसार सरकार अघि बढ्न सकेन । यसले अस्थिरता निम्त्याउन खोजेको थियो । यस्तै, प्रतिपक्ष दलकाका नेता केपी शर्मा ओलीले आरोप लगाए जस्तो अहिलेको सरकार परमादेशी नभइ जनदबाब र संविधानअनुसार बनेको उहाँले बताउनुभयो । ओलीले संसद्मा गरेको भाषणपछि जसले जे बोले पनि हुने रहेछकी के हो जस्तो लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधान हामीले नै बनाएका होइनौँ र । संविधान बनाउँदा के भनेका थियौँ । संविधानको मर्म के हो ? संसद् र नेपाली जनता भेडा हुन र ?’

उहाँले अहिलेको सरकारले संविधान जोगाएको पनि बताउनुभयो । ‘संविधान मिच्ने मात्रै प्रतिगमनकारी हुने संविधान कार्यान्वयन गर्ने कसरी प्रतिगमनकारी हुने ?’ उहाँको प्रतिप्रश्न छ । अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको रिस पोख्न ओलीले संसद् विघटन गरेको पनि बताउनुभयो । उहाँले पार्टीभित्रका विवाद, मतभेद र समाधान गर्ने आफ्नै विधि छाडेर ओली संसद् विघटनमा लागेको बताउनुभयो ।

उहाँले परमादेशको सन्दर्भ र संसद्मा जारी सुनुवाइअनुसार यो सरकार जनताको दबाब, संविधान र संसद्को बहुमतबाट बनेको प्रष्ट भएको उहाँको भनाइ छ । बरु अदालतलाई गलत बाटोमा लैजाने काम अघिल्लो सरकारले पो गरेको रहेछ भनेर निलम्बित प्रधानन्यायाधीशको सुनुवाबाट पुष्टि भएको उहाँले बताउनुभयो । अन्तिममा उहाँले संविधान, लोकतन्त्र, प्रजातन्त्रको रक्षाका लागि यो सरकार गठन भएको बताउनुभयो । यो सरकारले कोभिड महामारी नियन्त्रणका लागि गरेको प्रयास र स्वास्थ्य सामग्री जुटाउन निकै राम्रो काम गरेको पनि दाबी गर्नुभयो । यस्तै बाँकी तपाई ले भनेजस्तै आगामी ४ मंसिरमा हेरौँला ।