काठमाडौं – सरकार र मिटरब्याज तथा ठगी किसान मजदुर सङ्घर्ष समितिबीच आज शनिबार सहमति भएको छ । गृह मन्त्रालय र सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।

सहमति भएपछि सङ्घर्ष समितिले काठमाडौंमा गरिरहेको आन्दोलन स्थगित गर्ने जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार भएको वार्तामा सहमति जुटेको हो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक सहसचिव डा.भीष्मकुमार भुसाल र सङ्घर्ष समितिका तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।

मिटरब्याजी परिवारको सम्पत्ति छानबिनबारे कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने, ऋणीले साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी पास गरिदिएको जग्गा फिर्ताका लागि समन्वय गर्ने लगायतको सहमति भएको हो ।