काठमाडौं – दसैंमा घर जानेहरुका लागि आजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार दसैंका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो ।

काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन् । असोज १९ गते विजयदशमी हो । असोज १० गते घटस्थापना छ । यसैबीच, यातायात व्यवस्था विभागले दसैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय समेत गरेको छ ।

त्यस्तै यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको छ । तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारीलाई भने सो सो बन्देज कायमै रहने विभागले जनाएको छ ।