काठमाडौं – संविधान दिवसका उपलक्ष्यमा नेकपा एमालेले आज काठमाडौंमा बृहत पदयात्रा गर्ने भएको छ । संविधान दिवस असोज ३ गते भए पनि समानुपातिक बन्दसूचीको मनोनयन पर्ने भएकाले दुई दिन अघि नै फरक ढङ्गले एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज वाकाथन (प्रभात भ्रमण) को आयोजना गरेको हो ।

पदयात्राको नेतृत्व पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उपत्यकाका पाँच ठाउँबाट निस्कने पदयात्रा शहीदगेटमा मिसिएर बसन्तपुरमा पुगेर समापन हुनेछ । नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट बिहान ७ बजे नेता कार्यकर्ताले पदयात्रा गर्ने एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले बताउनुभयो ।

एमालेले संविधान दिवसलाई जनस्तरबाटै राष्ट्रिय पर्वका रूपमा मनाउने उद्देश्यले आज असोज १ गते वाकाथन आयोजना गरेको हो । आफूले आयोजना गर्ने वाकाथानअन्तर्गत एमालेले मर्निङवकामा सहभागी हुन यातायात क्षेत्रका सम्पूर्ण नेतृत्व तथा श्रमिकलाई आह्वान गरेको छ । ‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’ नारासहित आयोजना गरिएको पदयात्रामा पार्टीका झण्डा, ब्यानर प्रयोग नगरिने एमालेले जनाएको छ ।

एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल नयाँ बानेश्वरबाट सुरु हुने पदयात्रामा सहभागी हुनेछन् । उनीहरु हिडेरै बसन्तपुर पुग्ने एमालेले जनाएको छ । लैनचौरबाट शुरू हुने पदयात्राको नेतृत्व बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो । पदयात्रा टोली वसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गरेर समापन गर्ने कार्यक्रम रहेको छ ।