काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पु¥याएको बताउनुभएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक हरेक हिसावले निर्लज्ज ढङ्गले ओरालोतर्फ लगिरहेको बताउनुभएको हो ।

मुलुकलाई शान्ति र स्थिरता तथा विकासको बाटोतर्फ अघि बढाउन अबको निर्वाचनमा एमालेले हार्न नहुने उहाँको भनाइ छ । ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अब यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरू मध्ये कसैले पनि एक्लाएक्लै चुनाव लड्ने आँट गर्न नसकेको तर्क गर्नुभयो । उहाँले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफूलाई नै साधारण सदस्यबाट निष्कासन गरेको भन्दै कम्युनिस्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिएको आरोप समेत लगाउनुभयो ।