गोरखा – गोरखामा डेंगु रोगको सङ्क्रमणका कारण एक बालिकाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्वर १२ बस्ने ७ वर्षकी बालिकाको गत सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

उच्च ज्वरो सहितका समस्या देखिएपछि बालिकालाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो । अस्पतालले उनलाई काठमाण्डौं रिफर गरेकोमा त्यहाँस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय गोरखामा पनि डेंगु संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । पछिल्लो ८ महिनामा गोरखा अस्पतालमा भएको परिक्षणमा जिल्लामा ४१ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण भएको देखिएको छ ।