काठमाडौं – स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणमा निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताउनुभएको हो ।

उहाँले लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई पनि तीव्रता दिएको र जनचेतनाका काम पनि भइरहेको जानकारी दिनुभयो । लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान देशैभरि सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । मन्त्री खापुङले लामखुट्टे नष्ट गर्न स्प्रे र विषादी छर्नका लागि विज्ञहरूको सुझाव नआएका कारण हाललाई उक्त कार्य भने नगरिएको बताउनुभयो । उहाँले डेंगु प्रभावित बिरामीको उपचार भइरहेको र अन्य अस्पताललाई पनि तयारीको अवस्थामा राखिएको जानकारी दिनुभयो ।

अनेरास्ववियुले डेंगु नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न र विद्यार्थीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने भन्दै मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाएको हो ।