काठमाडौं – आगामी शनिबार अर्थात् असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गर्ने भएको छ । आज बिहीबार महानगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको हो ।

सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न महानगरले सबैमा अनुरोध समेत गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख गरिएको छ ।